blog-post

महाभुकम्प - मेरो भोगाइ, मेरो सिकाइ

Sudeep Uprety, Research Uptake and Communications Officer at HERD shares what he gained from the loss of #NepalEarthquake

करीब ३ बर्ष अघि भुइचालोको एउटा ड्रिल मैले पढाउने स्कुलमा गरिएको थियो । त्यतिखेर मलाई लाग्थ्यो के वहियात नाटक गरेको होला । बैशाख १२ गते को महभुकम्पपछी मैले वहियात भन्ने शब्द मेरो शब्दकोशबाट delete गरेको छु ।

बैशाख १२ गते, १२ बजे साथी अशिमको घर कोटेश्वरमा हामी केही पुराना साथीहरु भेटेर, पुरानो संकल्पलाई निरन्तरता दिने अठोटका साथ भेला हुने योजना थियो । १२ बज्न लागेको थियो, म घरबाट खाना खाएर कोटेश्वरको डाँडा उक्लदै अशिमको घर पुग्नै लागेको थिए । अचानक गढ्याङ् गूड्उङ आवाज आयो। मेरो पहिलो प्रतिकृया थियो – कत्रो प्लेन उडेछ ! कोटेश्वरमा ठुलो प्लेन उढ्दा तेस्तै आवाज आउछ । मैले पनि त्यही सम्झे। तर जब हिंड्नै गार्हो भयो, तब बल्ल मैले थाहा पाए, भुकम्प आएछ! एउटी महिला खाली खुट्टामा दौडिन थालिन । उनी चिच्याएको अहिले सम्म मेरो कानमा गुन्जयमान छ । छिन भरमै जमिन हल्लियो, म पनि बेस्सरी हल्लिए। सडकमा हिडिरहेको हुँदा, मैले react गर्नलाई भुइमा बसे । मानिसहरु सबै घरबाट बाहिर आए । कोटेश्वर वरपर कुनै घर ढलेको देखिन। कोटेश्वर डाँडाबाट आँखाले भ्याएसम्म हेर्दा पनि खासै घर ढलेको देखिन । त्यसैले मलाई ठुलो आकारको भुकम्प गएको त भान भयो तर क्षति ठुलो भएको जस्तो लागेन । भुकम्प आएपछी फेरी फर्किन्छ रे, त्यो पनि तेत्रै आकर को भनेर, अलिक डर लाग्यो । एक छिन घर फर्किने आट आएन । एक छिन साथी अशिमको घर अगाडि गएर बसे। घरमा फोन गर्ने धेरै प्रयास गरे तर लागेन। अलिक साम्मे भएपछी बिस्तारै घर फर्के। घरमा सबै सकुसल भएको देखेर ढुक्क लाग्यो।

मध्य दिनको त्यो त्रासदी युक्त घटनाले सारा मानसिक स्थिती खल्बलियो। मनमा डरको डेरा बाक्लै थियो। काठमाडौंको हबिगत देख्दा बिरक्त लाग्यो। फेरी सबैले FM सुन्दै यो पनि ढलेछ, त्यो पनि ढलेछ भन्दा झन तनाब भयो। त्यो रात हामी घरको ग्यारेजमा सुत्यौ। भोली फेरी मज्जाले भुकम्पजीको आगमन भयो। त्रास मरेन, उल्टै बढ्यो।  दोस्रो दिन पनि परिवार, आफन्त र छर छिमेकको त्रासमा त्रास मिलाएर कट्यो।

यि सब घटनाबिच मेरो मनमा अर्को कुराले बिस्तारै प्रबेश गर्दै थियो। म भिडमा पनि एक्लो महसुश गर्ने मान्छे भएकाले एक छिन सोचमा डुबे ।  त्यो सोच मैले थाहै नपाई मेरो जीवनमा परिवर्तनको प्रतिक बन्यो। मैले सोचे, म भर्खर २६ बर्ष काटेको युबक, अहिले सम्म दु:ख  देखेको छैन । मेरा बा, आमा, गुरु, गुरुआमाहरुले बढो लालन पालन गरेर हुर्काउनुभएको, राम्रो शिक्षा, दिक्षा दिएर आफ्नो खुट्टामा उभिन लायक  बनाउनु भएको मान्छे। म आज आएर एउटा भुकम्प आउँदैमा, त्यो पनि मेरो परिवार र घरलाई केही पनि नहुँदा, किन ठुलै बिपत आएजस्तो गर्दै छु? मलाई पिर गर्नुपर्ने केही पनि त भएको छैन! म किन एती सारो डराएको छु? यति मानिसहरुको मृत्‍यु  हुँदा, घर बार नस्ट हुँदा मैले त आफुलाई भाग्यमानी ठान्नु पर्छ भन्ने सोचे । यो मेरो लागि त एउटा नाफाको जिन्दगी हो। यो bonus को life मा त मैले हरेक पल जिउनु पर्छ। हरेक मिनेटलाई meaningful बनाउनुपर्छ। हरेक दिन मेरा लागि उपलब्धिपूर्ण हुनुपर्छ।

यही सोचका साथ मैले भुकम्प पीडितहरुको सहयोगकोलागि HERD को राहत कार्यक्रममा आफ्नो सहयोगी हात अगाडि सारे । मेरो भूमिका राहत कोश को स्थापना, त्यसको प्रचार र प्रसार र राहत कार्यक्रमहरुको बारेमा सुचना प्रदान गर्ने थियो। भुकम्प सम्बन्धी मिडियामा प्रकाशन भएका  समाचारहरुको संकलन, बिश्लेशन र रिपोर्ट एक महिना सम्म दैनिक रुपमा लेखियो, जुन आफैमा चुनौतिपूर्ण थियो। मैले यस्तै कठिन दिनहरुलाई उपलब्धिपूर्ण बनाउन, कठिनाईहरुलाई चुनौती भन्दा पनि अवसरको रुपमा हेरे।

मिडिया अनुगमन गर्दाका मेरा सहयोगी हातहरु - कृतज्ञा  र सन्तोष 

बैशाख १२को महभुकम्पले म मा केही सकारात्मक परिवर्तन ल्याएको छ। अब देशमा पनि सकारात्मक परिवर्तन ल्याउन हाम्रा हरेक सामुहिक प्रयासहरु उपलब्धिमुलक बनाउनु पर्छ ।


Author Info

avatar

Comments(0)

No comments found.

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.