सिन्धुपालचोकमा नेपाल परिवार नियोजन परियोजनाका लागि कार्यरत समिता श्रेष्ठ को महाभूकम्पका भोगाई, उहाँकै शब्दमा :
बैशाख १२ गते
हेल्थपोस्टको अ.न.मी र म बिहानै ७ः०० बजे नै खोप क्लिनिक चलाउन माथि माहाभिर भन्ने ठाउँ गयौं । अर्को अ.न.मी परिबार नियोजनको तालिमको लागि मेलम्चि गएको थियो । बाटो एकदमै सागुरो थियो, अ.न.मी. पनि पहिलो पटक त्यो ठाउँमा जान लागेको भएर उनलाई बाटो थाहा थिएन । बाटो सोध्दै सोध्दै लगभग २ घण्टा उकालो चडेपछि खोप क्लिनिक सञ्चालन हुने ठाउँ पुग्यौं । गाउँ अलि सुनसान थियो, बुढापाका र बालबच्चाबाहेक अरु देख्न पाइदैन थियो । एउटा गाउँको दिदीको घरमा चलेको खोप क्लिनिकमा आमाहरु आएका थिएनन्, भोक पनि लागिसकेको थियो, क्लिनिक सकाएर मात्र खाना खाने सोच थियो । अचानक NTC को नम्बरमा साथीको कल आयो । CDMA मात्र नम्बरमा लाग्ने ठाउँमा NTC रिङ बज्दा अचम्म लाग्यो, साथीसँग गफ गर्न घरबाट आँगनमा निस्के । लगभग १० मिनेट कुरा गरेपछि मलाई रिङ्गटा लागे जस्तो महसुस भयो, तर अलि छेउ उभिएकी अ.न.मी. भागेपछि बल्ल भुकम्प आएछ भन्ने भान भयो । भुकम्पको बेला घर छेउछाउ बस्नु हुन्न भन्ने मात्र सुनेकी थिएँ, त्यही सम्झेर घरबाट पर त भागे तर पहाडका ढुङ्गाबाट बच्न झन गाह्रो भयो । सबै गाउँलेहरु एक ठाउँमा भेला भएछन् । म, अ.न.मी. र खोप लगाउन आएकी सानो २ जना बच्चा बोकेकी महिला हामी सबै अलमल्ल परेर मकैबारीमा उभिरहयौं । सबै गाउँले एकातिर हामी तीन जना एकातिर, नयाँ ठाउँ भएकोले पनि कहाँ भाग्ने, कुन ठाउँ सुरक्षित छ भन्ने कुरा थाहा पाएनौं । पहाड हल्लिएको आवाज, अनगिन्ति खसेका ठूला ठूला ढुङ्गा, माटाकोे गन्ध, घर ढलेपछिको माटोको बाक्लो मुस्लो, सब हेर्दा लाग्यो कुनै फिल्मको सुटिङ स्पटमा उभिएकी छु । बाक्लो मुस्लो धुलोले अन्घकार छायो । मलाई अब कसरी घर फर्कने भन्ने मनमा लाग्यो । गाउँलेहरु रुन थाले, बच्चाहरु आफ्नो आमालाई च्याप्दै रुन थाले । म र अ.न.मी. अलमल्लमा पर्यौं । हामी उभिएको ठाउँको माथि ठूलो भिर रहेछ, गाउँलेहरु एकै स्वरमा चिच्याए, ए नानी त्यहाँ नबस त्यहाँ ढुङ्गा खस्छ यहाँ आउ, गाउँले उभिएको ठाउँसम्म पुग्न ३–४ घर पार गरेर जानुपथ्र्यो । घरको छानो ढुङ्गा खसिरहेको थियो । हामी तीन जना दुईवटा बच्चा बोक्दै मकैको बारीबाट तल हामफाल्दै गाउँले उभिएको ठाउँमा पुग्यौं । हामी त्यहाँबाट भाग्ने बितिकै माथिबाट ठूलो ढुङ्गा खस्यो । मनमा लाग्यो, मेरो जीवन अझै बाँकी रहेछ । त्यो बेला मनमा एक प्रकार आत्मविश्वास थियो, त्यो भुकम्प आउँछ जान्छ । आफुलाई पनि केही हुदैन र परिवारलाई पनि केही हुदैन । एउटा भत्केको घरबाट एउटा दाईले रेडियो निकाल्नुभयो, रेडियोमा काठमाण्डौ र भक्तपुर ध्वस्त भएको खबर बज्यो, बीर अस्पतालमा १ घण्टामा ६० वटा लास जम्मा गरेको खबर बज्यो त्यसपछि घर परिवारसँग छुटिएर बसेको क्षण, आफूलाई एकदमै लाचार महसुस् गरे, त्याँहाबाट तल गाउँ झर्ने निर्णय गर्यौं । लगभग ४ः४५ बजेतिर भत्केको घरको छानो माथिबाट कुल्चिदै तल गाउँ झर्यौं । तल गाउँ सबै ध्वस्त थियो सबै मान्छे घाइते थिए, बाटोमा रुदै कराउदै लडिरहेका थिए, हामी त्याहाँ पुगेपछि सबैले उपचार गर्न पर्यो भनेर घेरे । म र अ.न.मी. त्यो जिर्ण अवस्थामा पुगेको हेल्थपोस्ट छिर्यौ । सबै दराज औषधी छरपुष्ट थिए । सुआहाराले दिएको रातो रङको बाल्टिनमा उपचारका लागि चाहिने सबै औषधी राख्यौं । त्यो रातो बाल्टिन बोक्दै, अ.न.मी. र म बिरामीहरु भएको ठाउँ पुग्दै उपचार गर्न थाल्यौं । परिस्थितिले मान्छेलाई जे गर्न पनि प्रोत्साहन गर्दो रहेछ । अवस्था अनुसार मान्छेहरु जसरी पनि जहाँ पनि चल्न सक्दो रहेछ भन्ने कुरा त्यो दिन बुझें । सुरुमा घाउ र रगत देखिएर आत्तिएकी म, पछि बिरामीको घाउ सिलाउन र सफा गर्नमा ब्यस्त भएँ । गाउँका सबै पुरुषहरु भत्केको पसलबाट रक्सी निकाल्दै खाइराखेका थिए । त्यहाँका मानिसहरुमा सहयोगको भावना कसैमा पनि देखिन । बिरामीलाई सहयोग गर्ने, बस्ने ब्यवस्था मिलाउने, खाने ब्यवस्था मिलाउने भावना कसैमा पनि देखिन, उल्टो सबै रक्सीले मातेर खेतमा पल्टिरहेका थिए । आफन्त गुमाउने परिवार रुवाबासी गर्दै थिए । घरको अवस्था बुझ्न मन आतुर भइसकेको थियो तर नेटवर्क नलागेकोले सम्पर्क गर्न पाइन । लगभग नौ बजेसम्म हातमा टर्चलाइट र औषधीले भरिएको रातो बाल्टिन लिएर उपचार गर्नेतिर लाग्यौं । बल्लतल्ल कोशिस गरेर घरमा एक कल फोन गर्न पाएँ । त्यो दिन भरी भोकै भयौं, केही खान पाएनौं एउटा बुवाले सानो गोठ बनाउनु भएको थियो । त्यसमा हामी बास बस्यौ । कसैको हात भाँचेको, कसैको ढाड, कसैको खुट्टा । घाइते बच्चाहरु रातभरी रोए, रक्सीले मातेका केटाहरु घरमा पुरिएर मरेको आफ्नो साथीको कुरा काट्दै थिए, बारम्बार आएको पराकम्पनले निन्द्रा हराएको थियो, घरको पिरले सताएको थियो । आफू कहाँ आएर फँसियो, अब घर कसरी जाने, दुई जना साथी अर्को गा.बि.स. मा गएका साथीहरुको खबर कसरी पाउने भन्ने अनेक कुराले मन खाएको थियो । त्यो रात यत्तिकै बित्यो ।
बैशाख १३ गते
बिहान सुनौलो घाममा आफुलाई जिउँदो महसुस गर्न पाउदा नया जिबन पाए जस्तो लाग्यो । अब त जसरी भए पनि बाँचिन्छ भन्ने आत्मबिश्वास बढयो । गाउँका आईमाईहरु हरेस खाएर केही गर्ने जाँगर गरेका थिएनन् । गाउँलेहरुलाई जाथाभावी दिशा पिसाव नगर्न भन्दै थिए, तर कसैले माने पो । दिशा गरिसकेपछि माटोले छोप्न भने तर कसेले सुनेनन्, गाउँलेको ब्यावहार देखेर अचम्म लाग्यो । अघिल्लो दिन गोठ बनाउने बुवाले जसोतसो गरेर पानी ल्याउनु भयो र आफ्नो भत्केको घरबाट चामल, आलु, गोठबाट भाँडाकुडा निकाल्नुभयो । कसैले पनि अब त बाचिन्न भनेर केही चाँजोपाजो मिलाएनन् । अ.न.मी. र म मिलेर आगो बालेर खाना पकायौं । केही पनि नपाउने ठाउँमा त्यो नून मात्र भएको गुन्द्रुकको झोल र आलु अति नै मीठो लाग्यो । ३–४ घरका परिवारलाई खाना खुवायौं । सबले हामी दुइलाइ धेरै आशिस दिए । आशिस् पाउदा खुशी लाग्यो । खाना खाएर अघिल्लो दिन सिलाएको घाउलाई dressing गर्ने हामी दुई जना बाल्टिन बोक्दै बिरामी भएको ठाउँमा गयौं । एउटा सानो नानी लगभग १०–१२ बर्षको आँखा ढुङ्गाले लागेर फुटेको र निधारमा गहिरो चोट लागेर ८ ९ टाँका लगाउनुु परेको थियो । त्यो नानीलाई dressing गर्दैै थियौं, असहिय पिडाले रुन थालिन । उसँग बसेको अर्को सानो बाबु लगभग १२–१४ बर्षको उसको दाजु रहेछ । घाउँको पिडाले रोएकी बहिनीलाई छेउमा बसेर कराउदै थियो । केटी भएर रुन्छेस्, केटी भएर त सहनु पर्छ बुझिस् नरोउ । त्यो सानो बाबुको त्यस्तो प्रतिक्रिया देखेर अचम्म लाग्यो । गाउँ घरमा सानो नानीहरुमा पनि त्यही मानसिकता गढेको रहेछ । महिलाहरु त्यसरी नै मुठी भित्र च्यापिएका रहेछन् । ३ जना जतिको घाउ सफा गरिसकेपछि फेरी अर्को ठूलो झटकाले हान्यो । सबै गाउँले भागाभाग गर्न लागे । हेल्थपोस्ट माथिको सबै डाँडाहरु खसे, घाइते ब्यक्तिहरु आफू बसेको ठाउँबाट हल्लिन पनि सकेनन्, माथिबाट ढुङ्गाहरु खसिरहे । कसैले घाइते ब्यक्तिलाई उठाएर सुरक्षित ठाउँमा लान साहस् सम्म देखाएनन् । फेरी रुवाबासी चल्न थाल्यो । सबै आत्तिए, अब त बाँचिन्न भन्ने लाग्यो । आँखाबाट आँशु खसाल्दै घरमा फोन गर्न खोजें तर नेटवर्क लागेन । अपरिचित गाउँ, अपरिचित मान्छेहरु बीचमा, साथीहरु र परिवारबाट टाढा, म आफूलाई लाचार महसुस् गरें । घर सम्झेर भक्कानु फुट्यो । त्यो दिन महसुस् भयो जीवनको अर्थ, परिवार र साथीभाईको महत्व । आफ्नो झोला र रातो बाल्टिन् लिएर यताउती भाग्न थाल्यौं । त्यो बेला बाँच्ने आशा मनबाट हरायो । आकाशमा उडेको हेलिकेप्टरबाट सहयोग पाइन्छ कि भनेर हात हल्लाउदै गुहार्न थाल्यौं । तर कुनै पनि सहयोगको हात पुगेन । आफ्नो साथीहरुलाई भेट्ने इच्छा थियो मनमा। आफ्नो साथीहरु जीउँदो छ वा छैन भन्ने पनि थाहा नहँदा अझ मनमा भक्कानु फुट्न थाल्यो । घरमा आमा बुवा भाइ दिदीहरु मेरो पिरले रात दिन रुनु भएछ । साथी र आफन्तहरु कसरी खोज्ने भन्ने अन्योलमा rescue team सँग गुहार मागेछन् ।
एउटा बुवाले आफ्नो भत्केको घरबाट छोरा र नातिनीको लास निकाल्नु भन्दा पसलबाट सामान निकाल्दै बेच्दै हुनुहुन्थ्योे । त्यो दृश्यले मन छोयो, अचम्म लाग्यो तर पछि फेरी सोचें, उहाँले आफ्नो पसलको सामान (खानेकुरा) नबेचेको भए अरु गाउँका जिउँदो मान्छेहरु भोकभोकै मरिन्थ्यो होला । छोराको आदि शरिर बाहिर देखिएको भग्गावशेषबाट निकालिएको खानेकुराहरु मैंले पनि किनेर खाएँ । के गर्नु बाध्यता थियो, पेटमा भोक थियो ।
अचानक दूईवटा मोटरसाइकल हर्न बजाउदै आए । गाउँलेहरु सहयोगी हातहरु आएका होलान भनेर सबैजना भेला भए । एकछिन त लाग्यो मेरो साथीले मलाई लिन आएको भनेर । तर मान्छे हेर्दा जेलबाट भागेर आएको जस्तो देखिन्थ्यो । मलाई झन आफ्नो छुट्टिएको साथीको खबर पाउन आतुर भयो । त्यो दिन भागाभागमै बित्यो । साँझ ठूलो पानी पर्न थाल्यो । आकाश गर्जेको आवाज बारम्बार आईरहेको, पराकम्पन् को झटका, पारी डाँडाबाट झरेका ढुँगाका आवाज, खोलाको ठूलो डरलाग्दो आवाज, बच्चा रुएको आवाज, आईमाईहरु भूत आयो भन्दै डराउँदै चिच्याएको आवाज यी सबै आवाजले जीवनको अन्तिम क्षणको भान गरायो । अब त काठमाण्डौं पुँगिदैन भन्ने भयो । आफ्नो परिवार साथी भाइ सबैलाई सम्झें, जिबनमा बिताएका रमाइला क्षणहरु आँखा अगाडि घुम्न थाले ।
अ.न.मी. बहिनीलाई जसरी पनि त्यहाँबाट सुरक्षित ठाउँमा जानु पर्छ भनेर सम्झाएँ । बिचरी जिल्ला स्वास्थ्य कार्यालयको डरले त्यही बस्ने कहिं नजाने भनेर जिद्दी गर्न थालिन । मैले भने अरुलाई बचाउन पहिले आफू सुरक्षित हुनु पर्छ । आफूसँग उपचार गर्ने औषधि र समानहरु तयार हुनु पर्छ । अ.न.मी गाउँलेको मायाँले गर्दा पनि त्यहाँबाट जान मानेकी थिइनन् । धेरै सम्झाएपछि हुन्छ भन्ने जवाफ दिइन । मैले सबै गाउलेहरुलाई पनि सुरक्षित ठाउँमा जान आग्रह गरें तर सबैको एउटै उत्तर आउथ्यो “मरे पिन यही मर्ने बाँचे पनि यही बाच्ने”े । रात भरी आँखामा निन्द्रा परेन । घाँटी सुक्न थाल्यो, सबैको यादले सताउन थाल्यो ।
बैशाख १४ र १५ गते
बिहान ५ः ३० बज्ने वित्तिकै एक बोतल पानी भरें, बाल्टीनमा भएको ग्लोव, सिरिञ्ज अनि अरु औषधि आफ्नो झोलामा राखें । झिसमिस उज्यालोमा झोला बोकेर अ.न.मी. र म त्यहाँबाट हिड्यौं । बाटो एकदमै डरलाग्दो थियो । बाटो छेउछाउमा भत्केका घर, मरेका जनवार, भिरबाट खसेका ठूलाठूला ढुँगा, बिचबाट एकअर्काको हात समाउँदै एक मिनेट पनि नरोकिंदै लगातार भाग्यौं । मेरो जुत्ता च्यातिन थाल्यो, झोलामा जहिले पनि बोक्ने गरेको सियो धागो त्यसबेला काम लाग्यो । बैशाख ११ गते बिहान त्यही बाटो हिंड्न ४५ मिनेट लागेको थियो तर त्यो दिन १५ मिनेट मात्र लाग्यो । के कसरी कहाँबाट भागीरहेका छौं दिमागमा केही पनि थिएन , मात्र बाच्नु पर्छ भन्ने कुरा थियो । १५ मिनटेमा ढाँडे भन्ने ठाउँमा पुगेपछि अलि शाहस आयो । बाँच्ने आशा आयो, त्यो ठाउँ अलि सम्म थियो र सुरक्षित पनि थियो । एउटा महिला भूकम्प आएको बेला पर्खालबाट हामफालेका कारण बेला नपुग्दै सुकेरी ब्यथा लागेको रहेछ । २ दिन देखि ब्यथाले थला परेकी उनीलाई हामी देखे पछि आशा जाग्यो। हामी त्याहा पुगेको १० मिनेटमा एउटा सानो स्वास्थ्य बाबु जन्मियो । त्यो दुखको क्षणमा सबै परिवारको आखामा खुशी झल्कियो, जीवनमा पहिलो चोटी delivery attain गरे, सबै भग्बानको योजना जस्तो लाग्यो, हामी बिहानै भाग्नु, मैले झोलामा gloves राख्नु सबै क्षणको आफनै उद्देश्य थियो, खुशिले गढगढ भएर त्यही बास दिए र आशिस दिन थाले । नानीहरु त भगवान नै हुन भन्ने शब्द सबैको मुखमा झुण्डिएको थियो । त्यो दिन त्यही वितायौं ।
जथाभाबि गरिएको दिशा पिशाबले माहामारी फैलिने डर लाग्यो र गाउका मान्छेहरुलाइ अस्थाइ चर्पि बनाउन आग्रह गरे । र १ बटा चर्पि बनायौ । मध्य दिनमा एउता हेलिकप्टर बिरामी लिन अबतरण गरे, ६ ७ महिनाको गर्भबती महिला, भाचिएको ढाडले मुर्ति सरि पल्टिएकी थिइन, त्यो दृश्य देखेर मन रोयो । सबै बिरामी उपचार को लागि लगिए पछि बल्ल सास फेरे ।
एउटा पाल मुनी सात आठ घर बसेका रहेछन् । हामीलाई पनि त्यहीं बस्न ब्यवस्था मिल्यो । गाउँलेहरुको आँखामा झल्किएको खुशीले अनगिन्ती पाएका आशिसले सबै दुख विर्सिएं । बाच्ने आशा अझ मनमा बढ्न थाल्यो ।
बैशाख १६ गते
बैशाख १६ गते, हामी, काठमाण्डौ को लागि हिडयौ । बाटोमा काठमाण्डा , आफन्त भेट्न आएका मान्छे हरु अनगिन्ती भेटे, हरेक बटुबासग एउटै प्रश्न सोध्थे “ दाइ मोबाइल मा चार्ज छ, टावर छ ?” सबै बाट एउता मात्रै उतर पाए “ छैन”। जिरो किलो पुगिसके पछि बल्ल तल्ल मा मोबाइलमा टाबर लाग्यो र घरमा कुरा गर्न पाए, भाइहरु मेरो फोटो लिएर मलाइ खोज्न हिडेका रहेछन्, म सग कुरा भएपछि बिच बाटो बाट नै फर्के छन् । घर पुगे पछि आफु बाचे भनेर एक छिन बिश्बास लागेन।
जीवनमा नै पहिलो पटक भोगिएको महाभूकम्पले धेरै कुरा सिकायो । इच्छा शक्तिको अर्थ बुझायो, जीवनको महत्व झल्कायो, परिवार र साथीको मायाँ र ममताको महसुस गरायो । मान्छेले आफूलाई आपत परेको बेला जस्तो पनि अवस्थामा बाच्न सक्ने रहेछ भन्ने पाठ पढायो । घाइते ब्यक्तिलाई मदत र सेवा गर्न पाउँदा मनमा आएको आनन्द र शान्ती अब जिन्दगीमा सायदै फेरी आउँछ होला । महाभूकम्पले ल्याएको भौतिक क्षतिलाई मान्छेहरु बीच बढाएको आत्मियतासँग तुलना गर्न शायदै मिल्छ होला ।
Comments(0)
No comments found.